Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रविको हिरासतको तस्वीर खिच्ने निकोलस भुसाल रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा। निकोलस भुसाल रिहा भएका छन् । आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो ।

उनलाई बाहिरै राखेर अनुसन्धान गर्ने गरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति माग गरेको थियो ।

तर नवराज दाहालको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो । हिरासतमा लामिछाने सुतिरहेको तस्वीर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाहीको माग गर्दै बिरोध गरिरहेको थियो । तर तस्वीर आफूले खिचेको भन्दै निकोलसले सामाजिक सञ्जालमार्फत स्वीकार गरेका थिए । उनले आफूले रवि लामिछानेलाई भेटेर फर्किने क्रममा सीसीटीभी मनिटर रुमबाट तस्वीर लिएको बताएका थिए ।