Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता रु ५९ अर्ब ९८ करोडको तुलनामा चालु आवमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३० दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदान रु छ अर्ब ७५ करोड, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड गरी कुल रु ४४ अर्ब आठ करोड वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।