Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर रविको सांसद पद निलम्बन गरियोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरिएको टिप्प्णी गरेको छ । लामिछानेको सांसद पद निलम्बनपछि सङ्घीय संसद सचिवालय पत्र पुगेपछि रास्वपा नेता दीपक बोहराले भनेका छन्, ‘रानीतिक पूर्वाग्रहबाट प्रेरित भएर सांसद निलम्बन गर्न खोजिएको स्पष्ट देखियो ।’

उनले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को गलत व्याख्या गरिएको पनि दाबी गरे । उनले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ ले पद निलम्बन हुनेमा जनप्रतिनिधि नभइ राष्ट्रसेवक भनेको उल्लेख गर्दै उनले भनेका छन्, ’तर, सांसद राष्ट्रसेवक होइनन्, जनप्रतिनिधि हुन् ।’

उनले थपेका छन्, ‘विगतमा नेपालका विभिन्न मुद्दाहरूमा न्यायालयले ‘राष्ट्रसेवक’ को परिभाषा कार्यकारी शाखासम्म सीमित रहने भनेर व्याख्या गरेको छ । सांसदहरूको जिम्मेवारी विधायिकासम्बन्धी हुने भएकाले उनीहरू कार्यकारी भूमिकामा रहेजस्तो व्यवहार गर्न वा राष्ट्रसेवक मान्न सकिँदैन ।’

यस्तै प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को दफा २४८ (३) अनुसार सांसद पद निलम्बन हुन पुर्पक्षका लागि थुनामा बस्नैपर्ने हुनुपर्ने हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘तर, अहिले रवि लामिछाने न्यायिक हिरासतमा मात्र छन् । पुर्पक्ष थुनामा नभएकोले निलम्बन गर्न मिल्दैन ।’ यसर्थ, उनले लामिछानेलाई कानुनी आधार नै नभइकन निलम्बन गरिएको दाबी गरेका छन् । ‘सांसदलाई राष्ट्रसेवक भन्ने गलत व्याख्या । जनताको मतबाट चुनिएको प्रतिनिधिलाई हटाउने खेल,’ उनले भनेका छन्, ‘लोकतन्त्रमा यस्तो मनोमानी स्वीकार्य हुन सक्दैन ।’