Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् । आज बुधबार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।


उनले महसुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने जिकिर गरे । उनले व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बताए । उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको उनले बताएका छन् ।

उनले भने, ‘लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदि महसुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खाली के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरुको पनि इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । संसदमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई । व्यवसायी साथीहरुले पनि हामीले तिर्नुपर्ने यति मात्रै हो, हामीले यति मात्रै तिर्छौं, यो चाहीँ होइन है भनेको भए अझ प्रमाणित गर्न सजिलो हुन्थ्यो होला नि । त्यतातिर पनि म व्यवसायी साथीहरुको ध्यानाकर्षण गर्न चाहन्छु । प्राधिकरणको समस्या के हुन्, यसको छानविन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ ।’