Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि अहिलेको सरकार बनाउनु पर्‍यो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भनेझैं मुलुकका एमाले र कांग्रेस जस्ता पार्टी हुँदाहुँदै कस कसका के–के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन् ।’ प्रधानमन्त्री ओलीले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौं र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।’

 

GopalDahal_KTM_RSS_03__MG_3234(1).jpeg

प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छूवाछूत हटाउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए ।

‘मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन’, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिए ।