प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दी उपस्थित गराउन पनि आदेश दिएको हो । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।
प्रहरी हिरासतमा रहेका प्रसाईमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान जारी छ । उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् ।