Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सुक्खा बन्दरगाह भन्सारः राजस्व संकलन घट्यो

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए । कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ ।

चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ । यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आवको पाँच महिनामा रु २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको थियो ।