दाङको देउखुरीमा स्कुल बसले ठक्कर दिंदा भारतीय सेनामा कार्यरत एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरीका ३१ वर्षीय किशन शाही छन् । उनी सवार रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई बिजौरीमा रा १क १४१८ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो ।
उनलाई लालमटियास्थित गोरखा माविको बसले ठक्कर दिएको हो । स्कुल बसको ठक्करबाट शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतक शाही भारतीय सेनामा कार्यरत थिए । उनी केही दिनअघि मात्रै घर बिदामा आएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट शाहीको मृत्यु भएपछि आक्रोशित स्थानीयले मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका थिए । मृतकका दुई सन्तान निःशुल्क पढाइदिने र श्रीमतिलाई स्कुलमा रोजगारी दिने सहमति पछि राति साढे १० बजे पछि राजमार्ग सूचारु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त बस ट्युसन पढ्ने बिद्यार्थी छोडेर पूर्वतर्फ जाँदै थियो । तीब्र गतिमा रहेको बसले ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रहरी अधिकारीहरुले बताएका छन् । सोमबार बेलुका मात्रै राप्ती गाउँपालिका –२ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पश्चिमतर्फ आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका– ३ बसन्तपुरका १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको थियो ।
ट्रकका चालकमाथि कारबाहीको माग गर्दै मृतकका आफन्तहरूले मंगलबार बेलुकी ४ बजेदेखि ५ बजेसम्म सडक अवरुद्ध गरेका थिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीकै लमही नगरपालिका–९ च्याउखोला नजिकै सोमबार बिहान पनि लु १ज ४२९८ नम्बरको विङगर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ३ की ४२ वर्षीया त्रिथी थारु र ६० वर्षीया फुलसी थारुको मृत्यु भएको थियो । अरु थप १२ जना घाइते भएका थिए । पूर्व पश्चिम राजमार्ग अन्तगर दाङको देउखुरी क्षेत्रमा दिनहुँजसो सवारी दुर्घटना भइरहेका छ । प्रहरीले धेरैजसो दुर्घटना तीव्र गतिका कारण भएको बताएको छ ।