Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला यू–१९ एसिया कप: नेपाल ‘सुपर फोर’मा

नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

 मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै देशले एक–एक अंक बाँडेका छन् ।

दुवैको तीन–तीन अंक भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको छ । दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन् । यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । ‘सुपर फोर’मा नेपालले अब बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसित खेल्ने छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले तीन दशमलव एक ओभरमा बिनाकुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । उनले ४० बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन बनाइन् । साना प्रवीनले नौ, सोनी पाख्रिनले आठ, ज्योत्स्निका मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले तीन/तीन तथा अनु कडायत र कुसुम गोदारले एक÷एक रनको योगदान दिए ।

बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान एक/एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।