Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ललितपुरलाई नेपालकै सबै भन्दा सफा सहर बनाउँछौंः प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले महानगरलाई नेपालको सबैभन्दा सफा सहर बनाउने आफ्नो संकल्प दोहोर्‍याएका छन् ।

आज मंगलबार महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा ललितपुरलाई नेपालकै उत्कृष्ट पालिका बनाउनेतर्फ काम भइरहेको जानकारी दिएका हुन् । उनले ललितपुरको वडा नम्बर–२३ र २४ मा पर्ने धापाखेलको बाटो निर्माणमा सङ्घीय सरकारले चासो नदिएको भन्दै गम्भीर असन्तोष प्रकट गरे ।

महर्जनले स्थानीय घरधनीहरू मुआब्जा पाएमा घर छोड्न तयार रहेको तर सङ्घीय सरकारको ढिलाइका कारण समस्या जटिल बन्दै गएको बताए । उनले प्रधानमन्त्रीलाई तत्काल मुआब्जा वितरण प्रक्रिया अघि बढाउन र बाटो निर्माणमा तीव्रता दिन आग्रह गरे ।

‘हामी ललितपुरलाई सबैभन्दा सफा सहर र प्राकृतिक विपद्को सामना गर्ने अब्बल पालिका बनाउने दिशामा अघि बढिरहेका छौं । तर, धापाखेलको बाटो हाम्रो लागि लाजमर्दो विषय बनेको छ । सङ्घीय सरकारले मुआब्जा वितरण गरेर समस्या समाधान गर्नुपर्छ’, उनले भने । उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर तथा एकान्तकुनामा अण्डरपास निर्माणको आवश्यकता औंल्याएका छन् ।