Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो । लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ ।यो चार दिने म्यादभित्रै अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ ।

अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछानेसहित पाँच जना थुनामा छन् ।