Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रवि लामिछानेलाई आठौं पटक अदालत लगियो

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज मंगलबार आठौं पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका लामिछानेसहित पाँच जनालाई आज पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।


प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो । प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने बताइएको छ ।

प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने स्रोतले बतायो ।