Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिने निर्णयविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले नेकपा (एमाले)लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ ।

जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

जग्गा दान र भवन निर्माण रोक्न माग गरिएको अधिवक्ता बस्नेतको रिटलाई सर्वोच्च प्रशासनले १ कात्तिकमा दरपिठ गरिदिएको थियो । तर, दरपिठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले कात्तिक ६ गते सर्वोच्च प्रशासनको निर्णयलाई बदर गरिदिएको थियो ।

गत दशैंको फुलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रिय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्को वर्षभित्र भवन समेत बनाइदिने घोषणा गरेका थिए । कतिपय मुद्दाहरुको सामना गरिरहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका थिए । गुरुङले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गरी शिलान्यास नै गरिएको थियो । गुरुङले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरको जग्गा दान दिएका हुन् । 

१२ कार्तिकमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत भवन निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । त्यही मुद्दा पूर्ण सुनुवाईपछि खारेज भएको हो । सर्वोच्चको यो फैसलापछि एमालेलाई कानूनी रुपमा जग्गा ग्रहण गर्न र त्यहाँ भवन बनाउन कुनै अड्चन हुने छैन ।