Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

यू–१९ महिला एसिया कपः नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

नेपालले मलेसियामा जारी यू–१९ महिला एसिया कपमा विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा आज सोमबार पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै नेपाली महिला टोली पाकिस्तानी महिला टोलीलाई पराजित गर्दै इतिहास बनाएको छ ।


लगातार दोस्रो हार भोगेको पाकिस्तान समूह चरणमै रोकिएको छ । समूह बीको आफ्नो पहिलो खेलमा पाकिस्तान आइतबार भारतसँग ९ विकेटले पराजित भएको थियो । भारत पनि सुपर फोरमा पुगेको छ । मंगलबार हुने नेपाल र भारतबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

किन्नारा क्रिकेट ओभल मैदानमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा क्याप्टेन पूजा महतोले नटआउट ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रनमा नटआउट रहिन् । पाँचौ विकेटका लागि पूजा र सिमानाले नटआउट ३९ रनको साझेदारी गरेपछि नेपाल जित निकाल्न सफल भयो ।

साना प्रवीनले १०, सोनी पाख्रिनले १३ र सावित्री धामीले ८ रन बनाइन् । ज्योत्सनिका मरासिनीले भने खाता खोल्न पाइनन् । फतिमा खान र युरातुलिनले समान एक विकेट लिए पनि नेपालको जित भने रोक्न सकेनन् । यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । उसका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । माहम एनिस २९ रनमा नटआउट रहिन् ।

नेपालका लागि क्याप्टेन पूजा महतोले २ तथा रचना चौधरी र रिया शर्माले समान एक विकेट लिए । पहिलो पटक आयोजना भएको प्रतियोगिताको समूह ’बी’मा नेपाल र पाकिस्तानसँगै भारत छन् । समूह ‘ए’ भने श्रीलंका, बंगलादेश र मलेसिया छन् । एसियाबाट यू–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।