Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान

कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए। लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत पक्राउ परेका थिए । उनीहरूमाथि प्रहरीले संगठित अपराध, सम्मत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनै मुद्दा एकै पटक जिल्ला अदालत कास्कीमा दर्ता हुनेछन् । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको सहकारी विशेष छानबिन समितिले लामिछानेलाई दोषी देखाएको थियो । समितिले सहकारी प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ गते पक्राउ परेका थिए । कात्तिक ३ गतेदेखि उनी कास्की प्रहरीको हिरासतमा छन्।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । सरकारी वकिल कार्यालय कास्कीले सम्भवतः सोमबार नै जिल्ला अदालतमा लामिछानेविरुद्धको फाइल लैजाने सम्भावना छ । कास्की प्रहरीका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको हो । 

जोशी असोज ६ गते र लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए । पक्राउ परेको ८५ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब सरकारी वकिल कार्यालयले माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने छ ।