सुदूरपश्चिम र जनकपुरले क्वालिफायरमा, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ ।
लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । प्लेअफ समीकरणअनुसार सुदूरपश्चिमले १३ ओभरभित्र जित निकाल्दा काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने थियो । तर, सुदूरपश्चिमले १६औँ ओभरमा जित निकालेको कारण नेट रनरेटमा कर्णालीले काठमाडौंलाई पछि पार्दै प्लेअफ यात्रा तय गरेको हो ।

यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो ।
चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।