Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फुटेर होइन, जुटेर सँस्कृति जगेर्ना गर्नुपर्छः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । 

आज आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन संस्कृतिको जगेर्ना आवश्यक रहेको बताइन् ।


देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभई सबै जुटेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नु पर्छ । सबै जना एकजुट भएर लाग्नुपर्छ’ उनले भनिन् ।

उपप्रमुख डंगोलले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरिन् । साथै सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको उल्लेख गरिन् ।

‘ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्वपूर्ण भूमिका छ । यी सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्व दिनुपर्छ । सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै हामीले बोलिने भाषा, लेखिने लिपीलाई पनि जीवित राख्नु आजको आवश्यकता हो’, उनले भनिन् ।