Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सहकारी प्रकरणः लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।


जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर भएको हो । अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो ।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ । अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् । सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यस्तै सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।