Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविको आज पर्सामा बयान

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज मंगलबार बयान हुने भएको छ । बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने पर्सा प्रहरीले जनाएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याई सिमरा पुर्‍याइएको थियो । त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगञ्ज लगिएको थियो । लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए ।

जीबी राई सञ्चालक रहेको सानो पाइला बचत सहकारीको झण्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाट सडक मार्ग हुँदै वीरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

लामिछाने र जोशीमाथि वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । यसअघि लामिछाने र जोशीलाई छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार चार दिनको म्याद थप गरेको थियो ।