Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बालिकालाई जबरजस्ती करणी आरोपमा पूर्व मेयर पक्राउ

बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । बिर्तामोड–५ स्थित आफ्नै घरमा घरेलु कामदारको रुपमा राखेकी १७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ परेको प्रहरीले जनाएको छ ।


बुबाको मृत्युपछि बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन् । बालिकाको आमाले पनि दोस्रो विवाह गरी भारतको आसाममा गइसकेकी छिन् । शिवाकोटीका चिनजान पर्ने ती आफन्तको घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले ल्याएका थिए ।

कक्षा ११ मा अध्ययनरत बालिका शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी भागेर भारतको आसाम जान लागेकी थिइन् । काँकडभिट्टा गेटमा शङ्कास्पद रुपमा भारत जान लागेकी उनलाई माइती नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । संस्थाका एक प्रतिनिधिका अनुसार स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यही घरमा जानुपर्छ भनेर डराएकी थिइन् ।

बालिकालाई फकाएर सोधी खोजी गर्दा पूर्व मेयर शिवाकोटीको जघन्य कर्तुत खुलेको उनले बताए । पीडित बालिकाको भनाइ उद्धृत गर्दै उनले सुनाए, ‘शिवाकोटीको शारीरिक तथा मानसिक तनावबाट मुक्त हुन नेपाल छाडेर जान लागेकी बताइन् ।’ त्यसपछि माइती नेपालको सहयोगमा पीडित बालिका हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको र प्रहरीले शिवकोटीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।