Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध जनाएका छन् ।

सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताए ।

उनले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे । संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रस्तावहरु पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए । अमानवीय ढंगले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने उनले बताए ।

उनले भने, ‘इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ । अहिले पछिल्लो चरणमा खासगरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रुपमा हुँदै आएको छ । संयुक्त राष्ट्रसंघमा पनि यसका बारेमा पटक पटक प्रश्तावहरु पारित हुने गरेका छन् तर ति सबैलाई पनि अटेरी गर्दै जसरी नरसंहार र नाकाबन्दीको निरंकुश तरिका अपनाइएको छ ।

२१ औं शताब्दीको सभ्य समाज भनिन्छ । लोकतन्त्रको युग भन्ने गरिन्छ । तर यो २१ औं शताब्दीको सभ्य भनिएको समाजमा लोकतन्त्रको नयाँ युग भनिएको बेलामा पनि यति अमानवीय ढंगले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरुको नरसंहार गरेको देख्नुपरेको छ मानव जातिले । त्यसकाबिरुद्ध विश्वव्यापी आवाज उठाउन हामी सबैको कर्तव्य हुन आउँछ । अहिले नेपालका राजनीतिक दल, नागरिक समाज, विद्वत व्यक्तित्व सबैले पहल गरेर आवाज उठ्न शुरु गरेको छ ।’


७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरुले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान शुरु गरेका हुन् ।