Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विश्वमा नाम राख्नेगरी काम गर्छु ढुक्क हुनुस् - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वमा नाम राख्नेगरी काम गर्ने बताएका छन् ।

गृहनगर झापाकाे दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने बताए ।

‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन’ उनले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईँहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईँहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन आग्रह गर्छु ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए । जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने उनको भनाइ थियो ।

कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २, ३ र ४ का ६ हजार पाँच सय २१ घरधुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुनेछन् ।