Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

महावै गाउँपालिकाको मुकाम जोड्ने सडक बन्दै

कालिकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको छ । विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमअन्तर्गत महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण हुने भएको हो ।

उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नति हुने त्यसका लागि स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमले ठेक्कालगायतका अन्य काम गर्ने गाउँपालिकाले जनाएको छ । सडक निर्माणका लागि स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको र लगानी तथा पूर्वाधार निर्माण स्थानीय सडक सुधार कार्यक्रमले गर्ने महावै गाउँपालिकाका अध्यक्ष खेमबहालुर सिंहले बताए ।

‘विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामीण सडक स्तरोन्नति हुने भएको छ’, उनले भने, ‘त्यसै योजनाअनुसार महावै गाउँपालिका जोड्ने सडकको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ सडक निर्माण हुनेछ ।’

कालिकोटको महावै गाउँपालिका मुकाममा सडक जोड्नका लागि कालीकोट–जुम्ला सडक खण्डको खाँडाचक्र नगरपालिका–८ को सेरावाडादेखि महावै गाउँपालिकाको केन्द्र पादमघाटसम्म जोड्ने नौ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको र त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लगायतका अन्य काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्षले सिंहले बताए । उनले भने, ‘अब सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्छ ।’

यो आयोजनामा कालिकोट–जुम्ला सडकखण्डबाट महावै गाउँपालिका जोड्नका लागि तिला नदीमा पक्की पुल निर्माण हुने र पाँच वर्षभित्रमा सडक कालोपत्र, स्तरोन्नतिलगायत गरिने गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । महावै गाउँपालिकामा हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको अवस्थामा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) बाट सडक जोडिन लागेको हो ।