Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएल: चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा चितवनको यो तेस्रो जित हो ।

चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।

सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । इशानले २८ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर सैब जैब र विनोद भण्डारीले क्रमशः १८ र १० रन जोडे । ब्रान्डन म्याकमुलमले १३ रन थप्दा दीलप्रित बज्वाले १२ रन जोडे । स्कट कुग्गेलेनले १६ रन थप्दा नरेन साउदले १० रन बनाए ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका रिजन ढकाल, जान निकोल लोफ्टी इटोन, अमरसिंह रौटेला र कप्तान कुशल मल्लले समान दुई विकेट लिए । रजनले सैब जैब र नरेश साउदको विकेट लिए । इटोनले सुदूरपश्चिमका बज्वा र कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अमरसिंहले नरेश बुढाएर र इशान पाण्डेलाई पभेलियन फर्काए । यस्तै, कप्तान कुशलले विनोद भण्डारी र ब्रान्डन म्याकमुलमको विकेट लिएका थिए । 

यसबाहेक, रञ्जित कुमार र सोहेल तान्विरको नाममा एक विकेट रह्यो । रञ्जितले आरिफ सेखको विकेट लिँदा तान्विरले कुग्गेलेनलाई पभेलियन फर्काए ।