Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला

नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तान एकै ठाउँमा मृत्त भेटिएका छन् । किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । किस्पाङ गाउँपालिका–१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीया चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

आज बिहान ९ बजेको समयमा भएको उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

चन्दीमायाका श्रीमान रेस घले बिहान घरभन्दा केही माथि बारीमा केराउ टिप्न गएको समयमा उक्त घटना भएको र घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएको स्थानीयले जानकारी दिएका छन् । तर, घटनाको वास्तविक कारण भने यकिन भइनसकेको प्रहरीले बताएको छ ।