काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तीव्रता दिइरहेको छ। उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवन जस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको छ ।
पछिल्लो समय नियमितजसो अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले आज पनि नियमित अनुगमनकै क्रममा पुनर्निर्माण भइरहेको सानो गौचरन रङ्गशालाको अनुगमन गरेको छ । करीब एक हप्ताअघि मात्रै शिलान्यास भई पुनर्निर्माण थालिएको रङ्गशाला अनुगमन गर्न उपप्रमुख डंगोल आज सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राज भण्डारीसहित सानो गौचरन पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको र बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको गरिरहेको सो स्थानमा डंगोलसहितको अनुगमन टोली पुग्दा कतै गिटी–बालुवाका पहाड थिए भने कतै फलामहरु असरल्ल थिए । २०८२ चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको निर्माणस्थलमा पूर्व जानकारी विना नै डंगोलसहितको अनुगमन टोली त्यहाँ पुग्दा केहीबेर अन्योल छायो ।
प्राविधिकसहितको टोली लिएर डंगोल त्यहाँ पुगेपछि त्यहाँका राखिएका बालुवा, गिटी, रड सबैको अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै निर्देशन दिंदै ढलान कार्यमा रोक लगाइन् । अन्य सामाग्रीहरुको भने ल्याब टेष्ट गर्न पठाइएको थियो।
‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्वको संरचना पनि हो । त्यसैले हामीले यहाँ विशेष महत्व दिएर अनुगमन गरेका हौं ।’ ‘हामी अनुगमनमा पूर्व जानकारी विना नै जाने गरेका छौं । आज पनि हामी पूर्व जानकारी विना नै त्यहाँ पुगेका थियौं । प्राविधिक टीमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा राखेको पायौं । अनुगमनपछि त्यो बालुवा प्रयोग गरेर ढलान गर्न रोक लगाएका छौँ,’ उनले भनिन्, ‘अन्य सामाग्री हामीले ल्याव टेष्टका लागि पठाएका छौं ।’