Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मंसिरमै इनार सुक्यो, खोलाको पानी खानुपर्ने बाध्यता

दाङको राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मंसिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ । खानेपानी अभाव भएपछि स्थानीय खोलाको भर पर्न बाध्य छन् ।

‘मंसिरमा नै इनार सुक्यो, अहिले खोलाको पानी खानुपर्ने बाध्यता छ । खोलाको पानी लिन पनि आधा घण्टा हिड्नुपर्छ । खोला पनि सुक्न थालेपछि चैत वैशाखमा पानीको हाहाकार हुने सङ्केत देखिएको छ’, स्थानीय सम्झना सिंह ठकुरीले भनिन् । पातलो बस्ती औँलामा गन्न सकिने घर । तोरीबारीले घरआँगन सुन्दर देखिएका छन् । सबैका घरमा बाख्रा छन् । नजिकै जङ्गल, जङ्गलमा मौवा (एक प्रकारको जडिबुटी) का रूख र मौवाको दाना सुकाएर सबैका घरमा राखिएका छन्।

मौवाको मदिरा बनाउनमा बढी प्रयोग हुने स्थानीय बताउँछन् । बस्तीमा पुग्न बाटोको समस्या छ । राजपुर–६ खाङग्रानाका नागरिक अधिकांश उपभोग्य वस्तुका लागि भारतको भर पर्दछन् । नेपाल–भारतसँग जोडिएको यो गाउँमा खाद्यन्नदेखि लत्ताकपडा सबै सस्मा नाकाबाट ल्याउने गरिएको स्थानीय ठकुरीले जानकारी दिइन् । ‘स्वास्थ्य सेवादेखि सबै खाद्यान्नका वस्तु लिन भारत जानुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘यहाँ बिजुली, टेलिफोनको टावर छैन, भारतीय फोन (सिम)ले काम गर्छ । यहाँ ६५ परिवार छौँ, सबैले प्रयोग गर्ने एउटा इनार छ ।’

सोही वडाकी मङ्गलादेवी खत्रीले यहाँ बस्न थालेको २० वर्ष भएको बताइन् । अहिलेसम्म पानी, विद्युत्, टेलिफोन सुविधा नहुँदा सास्ती भोग्दै आएको बताइन् । राजपुरबाट दाङको लमही बजार जानभन्दा भारतीय बजार जान नजिक पर्ने उनको भनाइ छ । नुन, तेलदेखि दैनिक उपभोग्य वस्तु भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको खत्रीले बताइन् । ‘नेपालका नागरिक हौँ, सुविधा भने भारतको लिएका छौँ’, उनले भनिन् । वडा नं ६ मा एकीकृत स्वास्थ्य सेवा इकाइ रहेको भन्दै इकाइमा सेवा अपुग भएमा थप उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले नागरिकको सेवामा सदैव क्रियाशील रहँदा पनि अझै विभिन्न समस्या र चुनौती रहेका बताए । जटिल भौगोलिक बनावट, अशिक्षा, अन्धविश्वासलगायत समस्या रहेको भन्दै विभिन्न अभियानमार्फत नागरिकलाई सचेतना फैलाउने प्रयास निरन्तर भइरहेको उनले जानकारी दिए ।

वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयमा न्यून जनशक्ति, अप्रर्याप्त पूर्वाधार, भारतसँग खुल्ला सीमाना, जनसहभागितामा कमी, गाउँपालिकाको क्षेत्रभित्र आवश्यक रोजगारमूलक उद्योगधन्दा, कलकारखाना नहुनुलगायत कारणले यहाँ नागरिक भारतमा भर पर्नुपरेको तितो यर्थाथ रहेको अध्यक्ष बुढाथोकीले उल्लेख गरे । यी समस्या समाधान गर्न गाउपालिकाले योजनाबद्ध रूपमा प्रयास गरिरहेको उनले बताए ।

गाउँपालिका क्षेत्रमा खानेपानी तथा सिँचाइको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयलाई समस्या भइरहेको अध्यक्ष बुढाथोकीले बताए । सङ्घीय सरकारले सहयोग गरेमा सबै नागरिकलाई घरघरमा पानीको सुविधा पुर्‍याउन सकिने उनको भनाइ छ । ‘गाउँपालिका क्षेत्रभित्रका अधिकांश सडक कच्ची तथा कम गुणस्तरका छन् । सोही कारणले बर्सेनि सडक मर्मतमा बढी रकम खर्च गर्नुपरिरहेको छ’, गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भने, ‘कृषियोग्य भूमि भए पनि व्यावसायिक खेतीको विकास हुन नसकेकाले सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गरिरहेका छौँ ।’