Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन्।

२२ वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् । अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी हुन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् । १७ वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै सङ्घर्ष गरिन् । छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन्। उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् ।

श्रीमानले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै हुन्छिन् । सबै सामान आफँले जुटाउाछिन् । अनि सबै परिकार आफै बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।