Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

जाजरकोटमा जीप दुर्घटनाः चालकसहित दुई युवाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बुधबार राति करिब ८ बजेतिर मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जना युवाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले दुर्घटनामा जीप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिए ।

‘दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र २३ वर्षीय कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो,’ डाँगीले सुनाए, ‘अस्पतालका चिकित्सकले हमाल र केसीको मृत्यु भएको घोषणा गरेका छन्। चौधरीको उपचार जारी छ ।’

चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको उनले बताए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ । उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन् ।