प्रधानसेनापति अशोकराज सिग्देल यही मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ । सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ । नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्या दिने परम्परा छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ६ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । मंसिर ५ गते नेपाल आएका द्विवेदी ९ गते स्वदेश फर्केका थिए ।
भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
