नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ । चितवनका बलर सामु गुर्खाजका ब्याटरले संघर्ष गरे । कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। पेस बलर सोहेल तन्विरले पाँच विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे । गुर्खाजले २० ओभरमा नौ विकेट गुमाएर १११ रन जोड्यो । गुर्खाजले दोस्रो ओभरमा नै ओपनर स्टिफन इस्किनाजीलाई गुमाएको थियो । उनी मात्र दुई रनमा तन्विरको बलमा क्याच आउट भए । अमर रौटेलाले क्याच लिएका थिए । अर्का ओपनर माइकल लेभिटले आक्रमक ब्याटिङ गर्दै गुर्खाज समर्थकलाइ उत्साहित पारे । तन्विरलाई उनले लगातार दुई चौका प्रहार गरे । तर उनी १६ बलमा २५ रनमा क्याच आउट भए । यो विकेट पनि तन्विरकै नाममा रह्यो ।
दीपक बोहराले क्याच लिएका हुन् । अर्का विदेशी खेलाडी जेरार्ड इरास्मसको विकेट कुशलले लिएपछि गुर्खाज संकटमा परेको थियो । इरास्मस चार रनमा मैदान बाहिरिए । भिम सार्कीलाई पनि तन्विरले एक रनमा एलबीडब्लू धरापमा पारे । त्यतिबेला गुर्खाजको स्कोर बोर्डमा ३४ रन चार विकेट थियो । त्यसपछि शंकर राना र सुमित महर्जनले इनिङस सम्हाल्ने प्रयास गरे । उनीहरुबीच २९ रनको साझेदारी भएको थियो ।
रौटेलाले आफ्नो पहिलो स्पेलमा नै रानालाई १६ रनमा कट बिहाइन्ड आउट गरेर गुर्खाजमाथि दबाब बनाए । चार रन जोडेका रासिद खानले लुक बेन्केन्स्टाइको बलमा शरद भेषवाकरको हातमा क्याच थमाए । ४१ बलमा २९ रन बनाएका सुमित महर्जनाई रिजन ढकालले बाहिर पठाए । गुर्खाजको इनिङसमा उनले बनाएको रन उच्च हो । कप्तान करण केसी र साहब आलम एक–एक रनमा आउट गर्दै तन्विरले पाच विकेट पूरा गरेका थिए । जारी एनपीएलमा एकै इनिङसमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । डान डौथवेट १९ रनमा अविजीत रहे ।