Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्यु

सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । 

ड्युटीमै रहेका बेला आज आइतबार बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । यादव बीओपी बरहरीमा कार्यरत थिए ।


सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको उनले बताएका छन् । मधेश प्रदेशको सीमावर्ती क्षेत्रबाट मदिरा बिहार तस्करी हुन्छ । नम्बर नखुले पनि गाडी मदिरा तस्करी गर्ने नै रहेको स्थानीयको दाबी छ । 

तीव्र गतिमा आएके गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ ।