Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्री बनिदिनु पर्‍यो भन्दै प्रचण्डले हप्तैपिच्छे खबर पठाउनु हुन्छः गगन थापा

‘सहकारी ठग हुन् वा मानव तस्कर, तानेर झ्यालखाना पुर्‍याउँछौं’

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि हप्तैपिच्छे प्रधानमन्त्री बनिदिनु पर्‍यो भन्दै कांग्रेसलाई खबर पठाउने गरेको बताएका छन्। तर कांग्रेस असार १७ मा एमालेसँग भएको सहमति अनुसार सरकारलाई तलमाथि गर्ने पक्षमा नरहेको महामन्त्री थापाले बताएका छन्।

‘अहिले भर्खर प्रचण्डले कीर्तिपुरमै बोलेर जानु भएछ, यो–यो कारणले गर्दा सरकार बदलियो,’ कीर्तिपुरमा बिहीबार कांग्रेसले गरेको चुनावी सभामा बोल्दै महामन्त्री थापाले भने, ‘कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनु हुन्छ, लौ न प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेर । यो खबर पठाउने काम पहिले अर्कैले गथ्र्यो । सरकार तलमाथि गर्ने हो भने संख्या कांग्रेससँग नै छ । तर कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो, आज कांग्रेस केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ, कांग्रेसलाई प्रधानमन्त्री बन्न नआउने भएर होइन ।’

महामन्त्री थापाले बेरोजगारीका विरूद्ध, गरिबीका विरूद्ध र विधिका पक्षमा लड्न चाहेको पनि बताएका छन्। ‘हामी सबै खालका ठगहरूसँग लड्न चाहन्छौं, हामी सबै खालका चटकेहरूसँग लड्न चाहन्छौं,’ थापाले थपे, ‘त्यो ठग कांग्रेसको रूखमुनि बसेको छ भने पनि त्यहाँबाट तानेर झ्यालखानामा लैजाने जिम्मेवारी हाम्रो हो । नयाँ होस् कि पुरानो होस्, सहकारी ठग्ने होस् कि मान्छेलाई झुक्याएर विदेश लैजाने मानिस होस् जतिसुकै शक्तिशाली र जुनसुकै पार्टीको होस् आज बच्ला भोलि बच्दैन हामी छौं ।’ उनले उपनिर्वाचनको मौन अवधिमा आचारसंहितालाई पालना गर्न पनि आग्रह गरेका छन् ।