Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सन्जितलाई स्वर्णसहित दुई पदक

‘डब्लुएमएसी वेल्स’ खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन्। नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका हुन् ।

सन्जितले ‘क्रिएटिभ फम्स’को ‘मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायल’मा स्वर्ण जिते । उनले २६।७ अङ्क जोडे । ‘ट्रेडिसनल फम्स’को मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गरे । प्रतियोगितामा चार सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ ।

प्रतियोगिताको क्रममा सन्जितको डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो । सन्जितको यो पाचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ‘ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिप’ मा स्वर्ण जितेका थिए ।

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् । सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका छन् । सन्जित नेपाल उमा कुङफु सङ्घका नव निर्वाचित अध्यक्ष हुन् ।