मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ।
आज सोमबार काठमाडौंको सुन्धारास्थित धरहरामा आयोजित एक कार्यक्रमबीच ट्रफी सार्वजनिक भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित आठ वटा टिमका मार्की खेलाडीले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।
एनपीलको ट्रफी सार्वजनिक प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पुर्याउने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’
प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए । ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’