दक्षिण कोरियाले विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न समुह ए अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
दक्षिण कोरियाको जितमा ह्वाङ इन बियोम र ओह ह्योन ग्युले एक एक गोल गरेका थिए । त्यस्तै चेक रिपब्लिकका लागि एक गोल लाडिस्लाभ क्रेज्कीले गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा खेलको ५९औं मिनेटमा क्रेज्कीको गोलमा चेक रिपब्लिकले शुरुवाती अग्रता लुएको थियो । तर खेलको ६७औं मिनेटमा बियोमले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउदै बराबरी गरेका थिए । त्यसपछि सबस्टिच्युटको रुपमा मैदानमा आएका ग्युले खेलको ८०औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका थिए ।
अब दक्षिण कोरियाले अर्को खेल जुन १९ मा मेक्सिकोसँग खेल्ने छ भने चेक गणतन्त्रले अर्को खेल जुन १८ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।