Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए यस्ता सुझाव

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफलमा नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए । ‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने यो टन्टाबाट मुक्त हुनुपर्‍यो । जसले पहिलो निम्तो दिन्छ त्यहीँ जाने’ छलफलमा राखेको विषयवस्तुबारे पूर्व प्रधानमन्त्री नेपालले भने ।

उनले भने, ‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ । त्यसलाई ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ र कुनै छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन ।’

उनले सबै देशसँग मित्रतापूर्वक सम्बन्ध राख्नुपर्ने भन्दै शान्तिभूमि हो भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न आग्रह गरेको बताए । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफल गरेका हुन्।