Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मलैमा फोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै

दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्थ्यो । ‘हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ’, स्थानीय बमबहादुर बुढाले भने, ‘टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।’  

सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताए । 

‘यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो’, उनले भने, ‘टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।’  त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।