Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपा, दुर्गा र कुलमानलाई ओलीको जवाफ: भ्रष्टाचार र ठगी सह्य छैन

'कम्बोडिया चार घण्टामै पुगिन्छ, गएर खोज्नू'

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् ।

एमालेका उपत्यकास्थित तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै आफूलाई आरोप लगाउनेहरूलाई कम्बोडिया गएर खोज्न चुनौती दिएका हुन् । ‘भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।’

ओलीले केही मान्छेले हात्तीको बथानमा गएर नाङ्लो ठटाउने शैलीमा एमालेलाई जिस्काइरहेको बताए । ‘एमाले हात्तीको बथान हो, कसैले नाङ्लो ठटाउने कोसिस नगरे हुन्छ । एमाले अहिले एकतावद्ध छ’, उनले भने ।

यस्तै, कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताएका छन् । पार्टीविरुद्ध अनेक हल्ला चलाइए पनि भ्रमको पछि नदौडन बताए । ‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछि-पछि आकाशतर्फ हेरेर दौडिने पार्टी होइन’, उनले भनेका छन्। नेपाली जनताले ठूलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने ओलीले बताए ।

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे । ‘नेपाली जनता भ्रममा पर्दैन’, उनले भने । एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए । यो सरकार दशैँ पनि काट्दै भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पूरै समय काम गर्ने ओलीले स्पष्ट पारे ।

‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ’, ओलीले भनेका छन् । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताए । देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताएका छन् ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने ओलीले दाबी गरे । अहिलेको सरकार आफ्ना मानिलाई शक्तिमा पुर्याउन र अकूत सम्पत्ति कमाउन नबनेको उनले बताए । ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका ओलीले बताए । उनले आफूमाथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिएका छन् ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेका बताउँदै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए । उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गरे । बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेका ओलीले दाबी गरे ।

समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उनले आलोचना गरे । नीति अगाडि सार्न नसक्नेले गाली गलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताए । ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उनले भने ।

कानुनविपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गरे । देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पारे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि एमाले र आफूमाथि भइरहेका गालीगलौजबारे पनि बोलेका छन् ।

‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उनले भनेका छन् ।