Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति रहने गरी संविधान संशोधन हुन्छः देउवा

सत्ता साझेदार  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

आज ९बुधबार० काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भारत लगायतका देशहरुमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने र त्यसका लागि दलहरूबीच सहमति समेत भइसकेको बताएका छन् । 

उनले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनु परेको उल्लेख गर्दै प्रजातन्त्रको बिरुद्धमा संविधान संशोधन नहुने स्पष्ट पारे ।

उनले भने, ‘संविधान संशोधन किन भनिरहेका छन् । यसमा एउटा कुरा भनिहालौं । जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन गर्न लागिएको हो । अरु प्रजातन्त्रको खिलाफमा, प्रजातन्त्रलाई कमजोर बनाउने कुरामा म आफैं मान्दिनँ । धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।’ 

नेपालको प्रजातन्त्रलाई मर्न नदिने र बलियो बनाउने गरी डेमोक्र्याटिक लयर्स एशोसिएशनले कामहरु अघि बढाउनु पर्ने उनले बताए ।