Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कैलाली जिसस प्रमुखमा कांग्रेसकी टीका निर्विरोध निर्वाचित

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगोरा थारुले  उम्मेदवारी फिर्ता लिएपछि टीकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।

आइतबार नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिइन् ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेसका जिल्ला सचिव केशब मिश्रले जानकारी दिए ।

उनले भने, ‘रुपमतिको उम्मेदवारी फिर्तासंगै टिकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकी छिन् ।’ कांग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुने गरी जिसस प्रमुखमा टीकाकुमारीलाई अघि बढाएको उनको भनाइ छ ।