Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गरिमा विकास बैंक र नेपाल विद्युत् उद्यमी महासंघबीच सहकार्य

गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन नेपाल विद्युत् उद्यमी महासंघबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र नेपाल विद्युत् उद्यमी महासंघको तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात नेपाल विद्युत् उद्यमी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।

सो संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्नेछन ।

सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।