Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

डिल्लीबजार कारागार चलान भए दीपक मनाङे

ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् । 

मंगलबार काठमाडौंबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद तोकेको थियो ।

उक्त फैसलालाई यही कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।