Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई आज पोखराबाट रुपन्देही लगिँदै

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज मंगलबार कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोग लागेका लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिन लागेको हो । लामिछानेलाई भैरहवा ल्याए लगत्तै आजै बयान सुरु गरिने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिएका छन् । जति सक्दो छिटो बयान सकेर लामिछानेलाई पोखरा नै पठाइने उनले बताए ।

कात्तिक २ गते सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिनको म्याद थप गरेको थियो । कास्कीमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकममध्ये १४ करोड  २९ लाख रुपैंयाँ जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको समूहले गोर्खा मिडियामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा छ ।

सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ ऋण लगेको  देखिएको यसअघिका अुनसन्धान प्रतिवेदनमा उल्लेख छ । सोही मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् । यसअघि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी तथा गोर्खा मिडियाका तत्कालिन उपाध्यक्ष छविलाल जोशीलाई पनि सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान गराएर कास्की पठाइएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ गते लामिछाने, पूर्व डिआइजी जोशी लगायतका १२ जनाविरुद्ध संगठित अपराध अनुसन्धान मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुनेमा दिपक लामा, अनन्तबाब राई, श्री बल्लभ नेपाल, विशाल तमाङ, रबिना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी नरेश जिसी र शिव बहादुर गुरुङ छन् । उनीहरु गोर्खा मिडिया नेटवर्कका शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ्ग कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु हुन् ।

गत वर्षको चैतमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत सुप्रिमका संस्थापक अध्यक्ष गितेन्द्रबाब ९जिवी० राइ, अध्यक्ष ओमप्रकास गुरुङ, व्यवस्थापक सागर केसी, सचिव दिपेश पुन लगायतका २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ती मध्ये ७ जना  पक्राउ परेका थिए । पक्राउ परेका मध्ये अध्यक्ष गुरुङलाई पुरपक्षका लागि थुनामा पठाइएको छ । सचिव दिपेश पुन सहितका ६ जना धरौटीमा छुटिसकेका छन् । जिवी राई, सागर केसी सहितका १९ जना अहिलेसम्म पक्राउ परेका छैनन् ।  यसैबीच रास्वपाले आज भैरहवामा विरोध प्रदर्शनको तयारी गरेको छ । पार्टी सभापति  लामिछानेलाई बयानका लागि भैरहवा ल्याउने खबर पाएसँगै रास्वपाले प्रदर्शनको तयारी गरेको हो । आज बिहान ११ बजेदेखि नै भैरहवामा विरोधको कार्यक्रम सुरु गर्ने रास्वपाले जनाएको छ।