Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सृजनाको संघर्ष, संकल्प र सफलताको प्रेरणादायी यात्रा

सरोज पोखरेल । जस्तोसुकै समस्या आए पनि यदि त्यसको डटेर सामना गर्न सकिन्छ भने, एक न एक दिन अवश्य सफलता प्राप्त हुन्छ । यस्तै, जीवनका हरेक दुःख र कष्टमा संघर्ष गर्दै सफलता प्राप्त गरेका थुप्रै व्यक्तिहरू हाम्रै वरिपरि भेटिन्छन् । कुनै पनि अवस्थामा हिम्मत नहारी, निरन्तर कडा परिश्रम र मिहिनेतका साथ सफल भएका व्यक्तिहरूको मध्येमा एक नाम हो सृजना नेपाली । 

सृजनाको जीवन यात्रा साधारण भए तापनि प्रेरणादायी छ, जसले संघर्ष र साहसको वास्तविकता प्रस्तुत गर्दछ । स्याङ्जाको एउटा सानो गाउँमा निम्न–मध्यम वर्गीय परिवारमा सृजनाको जन्म भएको हो । बाल्यकालमा परिवारमा आर्थिक अभाव र सामाजिक संघर्षको सामना गर्नुपर्यो, तर सृजनामा मेहनत र संघर्षको भावना बाल्यकालदेखि नै प्रवल थियो, जसरी हुने विरुवाको चिल्लो पात भने झैं सृजनामा सफलता हाँसिल गर्ने चाहना पनि गहिरो थियो ।

WhatsApp Image 2024-11-10 at 20.28.02_2883dc9a.jpg

बाल्यकालदेखि नै लगनशील र मेहनती स्वभावकी सृजनाले पढाइको महत्वलाई राम्रोसँग बुझेकी थिइन् । उनेले श्रवण निम्न माध्यमिक विद्यालयबाट आफ्नो प्रारम्भिक शिक्षा हाँसिल गरिन् । सानैदेखि अव्वल भएकी हुनाले उनले विभिन्न संघ–संस्थाहरूबाट अवसरहरू पनि पाइन् । केयर नेपालले दिएको छात्रवृत्तिले उनको अध्ययनलाई निरन्तरता दिन थप हौसला दियो ।

उमेर बढ्दै जाँदा बाल्यकालका रमाइलो पलहरू साथी–संगीहरूसँग बित्यो, तर केही समयपछि जीवनमा केवल रमाइलो गरेर मात्रै पुग्दैन भन्ने सोच उनलाई चिन्तनशील बनायो । यो सोचले उनलाई केहि विशेष गर्नुपर्छ भन्ने दृढ विश्वास दिलायो र यसले उनलाई एक असाधारण नेतृत्व क्षमता विकास गर्न प्रेरित गर्यो । कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दा उनको नेतृत्व क्षमता अझ प्रगाढ बन्यो । सानैदेखि तेज दिमाग भएकी सृजनाले विज्ञान विषय अध्ययन गर्ने योजना बनाइन्, तर अन्तिम समयमा गणितमा रुचि बढ्न थाल्यो । त्यसैले उनले गणित विषयमा प्लस टु उत्तीर्ण गरिन् । तर, केही फरक गर्ने सोच र आफूलाई प्रमाणित गर्ने अवसरको खोजीले गर्दा उनले गणितबाट पत्रकारिता तर्फ मोड लिइन् र त्यसपछि पत्रकारितामा स्नातक अध्ययन पूरा गरिन् ।

सानैदेखि हक्की र सहयोगी स्वभावकी सृजना विद्यार्थी राजनीतिमा पनि सक्रिय रहिन् । छोटो समयमै नेकपा एमालेबाट केन्द्रिय राजनीतिमा आफ्नो पहिचान बनाउन सफल उनले अन्तर्राष्ट्रिय संगठन, युएनमा काम गर्ने अवसर प्राप्त गरिन् । यस अवसरले उनलाई बाह्य विश्वसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पनि दियो, जसले उनका दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा फराकिलो बनायो र उनीलाई सोच्ने नयाँ दिशा प्रदान गर्यो ।

सन् २०६२/६३ को जनआन्दोलनमा सृजनाले विद्यार्थी राजनीति मार्फत नेपालको राजनीतिक परिवर्तनमा योगदान पुर्याइन् । तर, राजनीतिक संक्रमणकालका कारण बाध्य भएर उनले विदेश जाने निर्णय लिइन् । दक्षिण कोरिया पुगेपछि सुरुमा अदक्ष कामदारको रूपमा कृषि क्षेत्रमा काम गर्न थालिन् । कठिन परिस्थितिमा पनि हिम्मत नहार्ने स्वभावले उनलाई आफ्नो लक्ष्यप्रति दृढ राख्न मद्दत ग¥यो । समयसँगै उनले कृषि क्षेत्रमा काम गर्दै कडा संघर्षको सामना गरिन् ।

4b519fbc-7cec-4b60-b8a8-39b0f29032a6.jpeg

कोरियामा सृजनाले केवल काम गरेर मात्र सन्तुष्टि पाइनन् । “म अझ धेरै गर्छु“ भन्ने हुटहुटीले उनलाई कोरियन सौन्दर्य शास्त्रको अध्ययनतर्फ प्रेरित ग¥यो । यस क्षेत्रमा गहिरो अध्ययन गरेर उनले आफ्नै व्यवसाय स्थापना गरिन् र सफल व्यवसायिक महिलाका रूपमा आफ्नो पहिचान बनाइन् । व्यवसायिक सफलता मात्र उनको लक्ष्य थिएन, देशप्रतिको जिम्मेवारीबोधले उनलाई प्रवासबाटै नेपाली समुदाय र देशको सेवा गर्ने चाहना पनि जागृत गर्यो । प्रवासमा रहेर पनि सृजनाले सक्रिय राजनीतिक जीवनलाई निरन्तरता दिइन् र देशको सेवामा महत्वपूर्ण भूमिका निभाइन् । देशको लागि केही विशेष गर्न चाहने उनले हाल बुसान विश्वविद्यालयमा प्राध्यापकको रूपमा नियुक्ति पाएकी छन् । 

कोरियामा रहँदा पनि नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले उनले शिक्षा क्षेत्रमा योगदान पुर्याउने कार्यलाई निरन्तरता दिएकी छिन् । रोचक कुरा के छ भने, कोरियामा आफूलाई पढाएका प्रोफेसरहरूलाई नै सृजनाले रोजगारी दिएकी छिन् । यसका साथै, रोजगारीको अवसरमा गएकाहरूलाई पनि सीप विकासका कक्षाहरू प्रदान गर्दै, स्वदेश फर्केर केही गर्नु पर्ने मार्गदर्शन दिने गरेकी छिन् । स्याङ्जा जिल्लामा जन्मेकी साधारण परिवारकी एक छोरी आज विदेशमा प्राध्यापन गर्नसम्मको यात्रा तय गर्नु सृजनाको अथक परिश्रम र साहसको सजीव प्रमाण हो । 

WhatsApp Image 2024-11-10 at 20.28.02_00f4042d.jpg

जीवनमा उतार चडाव धेरै आउँछन्, तर समस्याको सामना गर्दै अघि बढ्ने हो भने एक न एक दिन सफलता पक्कै हात लाग्छ । सृजना नेपालीको जीवनको यात्रा साहस, संकल्प, र संघर्षको अनन्त उदाहरण हो । उनी भन्छिन्, “इच्छाशक्ति र मेहनत भयो भने जे पनि गर्न सकिन्छ ।” आगामी दिनमा उनले नेपाली भाषालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन आफ्नो प्राध्यापनलाई उपयोग गर्ने सोच राखेकी छिन् । सृजनाको जीवनले सन्देश दिन्छ कि कुनै पनि परिस्थिति होस्, संघर्ष, शिक्षा, र आत्मविश्वासले सफलता सम्भव बनाउँछ । भविष्यमा नेपाली भाषा र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ, सृजना नेपालीले शिक्षणलाई जीवनको एक प्रमुख साधन बनाउँदै गएकी छिन् । 

नेपालको सीमित आर्थिक अवस्थाबाट कोरिया पुगेकी र अहिले एक विश्वविद्यालयकी प्राध्यापक बनेकी उनले भोगेका चुनौती र संकल्पले हामीलाई धेरै प्रेरणा दिन्छ । सृजना नेपालीले देखाएको हिम्मत र मेहनतको यो कथा समाजका लागि प्रेरणादायी छ, जसले यो प्रमाणित गर्छ कि कुनै पनि सपना हासिल गर्न दृढ इच्छाशक्ति नै पर्याप्त छ ।