Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट

थाइल्याण्डमाथि नेपालको लगातार दोस्रो जित

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौंथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई १०६ रनले पराजित गरेको हो । 

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको थाइलैण्डको पारी १६ ओभरमा ३३ रनमा समेटियो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन् ।  १४० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डका लागि   कुनै पनि बयाटरले दोहरो अङ्कामा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि कुशुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई–दुई तथा पूजा महतोले एक विकेट लिइन् । 

गत बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो । 

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग १३ रनले पराजित भएको थियो । नेपालले आफ्नो पाँचौं खेल अब मङ्गलबार कुवेतसँग खेल्ने छ । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्ने छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।