Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपा नेताले माफी माग्दै भने–नयाँ पार्टीका रूपमा छवि बनाउन चुक्यौं

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले मानव तस्करी प्रकणमा मुछिएका नेतालाई कारबाही गरेकोप्रति एमालेको प्रशंसा गरेका छन् । जापानमा मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई निलम्बन गर्ने एमालेको निर्णयप्रति प्रशंसा गर्दै कार्कीले नयाँ पार्टीका रूपमा आफूहरू चुकेको स्वीकारेका छन् ।

‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्‍याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानबिनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ’, कार्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनुपर्ने पारदर्शी चरित्रका रूपमा आफूहरू चुकेको बताएका छन् । ‘मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु’, कार्कीले थपेका छन् ।

जापानमा मानव तस्करी प्रकणमा मुछिएपछि एमाले नेता अधिकारीले कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएका थिए भने पार्टीको जिम्मेवारीबाट समेत हटाउन आग्रह गरेका थिए । अधिकारीलाई एमालेको कोशी प्रदेश कार्यालयले पार्टीको संगठित सदस्यताबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ । 

एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीमा सक्रिय भूमिका नदिन र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यसहित संगठित सदस्यताबाट पनि निलम्बन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

केही समय पहिले ‘अमेरिकामा मानव तस्करी’ प्रकणमा उपसभामुख इन्दिरा राना मुछिएपछि कारबाही गर्ने तयारी चल्दा रास्वपा उनका पक्षमा लागेको थियो । भलै यो प्रकरण अहिले सेलाएको छ । कांग्रेस–एमाले लगायतका दलका नेताले उपसभामुखको राजीनामा मागेपनि रास्वपा भने बचाउमा उत्रिएको थियो । अहिले रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा छन् ।

रास्वपा भने सरकारले राजनीतिक प्रतिशोध साँधेर उनलाई पक्राउ गरेको भन्दै सडक आन्दोलनमा छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले समेत रास्वपाको बढ्दो प्रभाव र जनसमर्थन दबाउन आफ्ना सभापति लामिछानेलाई सरकारले षडयन्त्रपूर्वक पक्राउ गरेको ठहर गरेको छ । उसले सरकारको कदमविरुद्ध उत्रिन समेत जनतालाई आह्वान गरेको छ ।