Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

झापा इनर्जीले प्राधिकरणलाई बेच्यो सात करोडको सौर्य ऊर्जा, हिउँदभन्दा वर्षामा बढी उत्पादन

झापा इनर्जी लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई ७ करोड ११ लाख ३८ हजार ७ सय १० रुपैयाँ मूल्य बराबरको सौर्य ऊर्जा उत्पादन गरेर बिक्री गरेको छ। परियोजनास्थल शिवसताक्षी नगरपालिका-४ बुलुचोकमा छ। गत माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए।

कम्पनीका प्रबन्ध संचालक सुभाष भट्टराईले गत माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए। गत माघ १० देखि कात्तिक २० सम्मको अवधिमा परियोजनाले १ करोड १९ लाख ७ हजार ७ सय ८१ युनिट विद्युत् उत्पादन गरेको जानकारी उनले दिए।

परियोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रीडमा जोडिएको छ। परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता छ। हिउँदभन्दा बर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ।‘हिउँदमा अधिकतम् दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ,’ कम्पनीका प्रबन्ध संचालक भट्टराईले भने, ‘तर बर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ।’

प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत् प्रति युनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ। शिवसताक्षी-४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना छ। सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषणका लागि सोलार प्यानल राखिएका छन्। प्रबन्ध संचालक भट्टराईका अनुसार परियोजनामा ८७ करोड रुपैयाँ लगानी भएको छ। कम्पनीमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकको ६२ करोड रुपैयाँ ऋण लगानी छ।

जनस्तरबाट पुँजी सङ्कलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेड विद्युत् उत्पादन गर्ने सोलार परियोजना हो। यसमा ८ सय सर्वसाधारणको ५० हजारदेखि ५० लाख रुपैयाँसम्म सेयर लगानी छ। परियोजनामा २ इञ्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन्। विद्युत् उत्पादन प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारी दिनरात खटिने गरेको भट्टराईले बताए।