Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सहकारी होस् वा मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नैपर्छः गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनु पर्ने बताएका छन् । कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भिक रूपमा आफ्नो काम गर्न पाउनु नै कानूनी शासनको मान्यता भएको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि, मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भीडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्, कानून सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ ।’

सबै कानूनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानूनी दायित्व बोक्नुपर्ने महामन्त्री थापाले बताए । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारी मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न पाइँदैन । यो विचार, आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस्, मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’