Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गैंडाको आक्रमणबाट पथ प्रदर्शक घाइते

चितवनको मेघौलीस्थित सामुदायिक वनमा गैंडाको आक्रमणबाट पथ प्रदर्शक घाइते भएका छन् ।आक्रमणमा भरतपुर–२७ सिसौघारी टोल बस्ने २८ वर्षीय पथ प्रदर्शक जगबहादुर माझी घाइते भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सदाबहार सामुदायिक वनमा विदेशी पर्यटकलाई घुमाउनेक्रममा गैंडाले आक्रमण गरेको हो । माझीको पेट, टाउको र हातमा चोट लागेको छ ।

गैंडाले आक्रमण गरेपछि जंगल सफारीमा रहेको सोल्टी वेस्ट्रन रिसोर्टको गाडीमार्फत उद्धार गरिएको थियो । माझीलाई भरतपुर–२७ मा होमस्टे पनि चलाउने नेचर गाइड हरि अधिकारीले सहयोगी बनाएर लगेका थिए ।

‘उनीहरुलाई निकुञ्जले पहिले पनि अनुशासनपूर्वक काम गर्न सचेत गराएको थियो । तर अटेरी गरी वन्यजन्तुको नजिक जाने, पर्यटकलाई राप्ती नदीको किनारमा योग गराउने जस्ता गतिविधि गरेको सूचना पाएका थियौं,’ मगरले भने, ‘आज त गैंडाले आक्रमण नै गरेछ ।’ घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।